
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले विशेष महाधिवेशनबाट आएको समिति मात्र बलियो नभएको स्पष्ट पार्दै पार्टीभित्र सबै पक्ष समान रूपमा कमजोर र आत्ममूल्याङ्कनको अवस्थामा रहेको बताएका छन्।

देउवा–कोइराला समूहको अनौपचारिक बैठकमा सहभागी हुन महाराजगञ्ज पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बल प्रयोग गरेर वा कसैलाई कमजोर देखाएर पार्टी बलियो नहुने बताए। “हामी बलियो छौं, तर आधिकारिकता मात्रै पर्याप्त हुँदैन,” उनले भने।

बलायरले पार्टीभित्र देखिएको मतभेदलाई समानान्तर गतिविधि भनेर बुझ्नु गलत हुने उल्लेख गर्दै दुवै पक्षलाई आत्मचिन्तन गरी वास्तविकता स्वीकार गर्दै अघि बढ्न आग्रह गरे। उनले अहिलेको अवस्था सबै नेताहरूका लागि गम्भीर समीक्षा गर्ने समय भएको टिप्पणी गरे।

यसैबीच, नेपाली कांग्रेसका शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पक्षले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएको छ। विशेष महाधिवेशनपछि देखिएको आन्तरिक तनावबीच बसेको उक्त बैठकमा ६५ भन्दा बढी पूर्व केन्द्रीय पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको छ। बैठकमा सुदूरपश्चिमका नेताहरू पनि सहभागी भएका छन्।
































