
सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्य केपी खनालले अछाम जिल्लामा मात्र पाइने दुर्लभ नौ मुठ्ठे गाईको संरक्षण र यसको उत्पादनको बजारीकरणका लागि प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग भएको विशेष छलफलमा सांसद खनालले लोपोन्मुख यो प्रजातिको अध्ययन र संरक्षणका लागि राज्यले तत्काल कदम चाल्नुपर्ने माग राखे।
उनले अछाममा मात्रै पाइने यो दुर्लभ गाईको महत्व उल्लेख गर्दै व्यवस्थित गौशाला निर्माण आवश्यक रहेको बताए।
यसबाट प्राप्त गौमूत्र, गोबर, दूध र घ्यूलाई व्यवस्थित बजारीकरण गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धिमा योगदान पुग्ने उनको भनाइ छ।
अछामको रैथाने प्रजाति मानिने नौ मुठ्ठे गाई विश्वकै सबैभन्दा सानो गाई प्रजाति मानिन्छ।
त्यसको दूध, दही, घ्यू, गोमूत्र र गोबरलाई औषधीय गुणयुक्त मानिन्छ र पञ्चगव्यलाई परम्परागत रूपमा अमृत समान मानिन्छ।
छलफलमा सांसद खनालले गेटा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल पठनपाठन सुरु गर्नुपर्ने र सेती लोकमार्ग निर्माणलाई तीव्रता दिनुपर्ने माग पनि राखे।
उनले वासुलिङ्ग सुगर मिल पुनः सञ्चालन, महाकाली करिडोर, खक्रौला नाका व्यवस्थापन र छाडा चौपाया नियन्त्रणमा समेत जोड दिए।
मानसखण्ड सर्किट कार्यान्वयन र पहाडी सात जिल्लालाई हवाई सेवामा जोड्ने विषयमा पनि सकारात्मक छलफल भएको छ।
सुदूरपश्चिमको समग्र विकास, पर्यटन प्रवर्द्धन र रैथाने उत्पादनको बजार विस्तारलाई प्राथमिकता दिनुपर्नेमा समेत छलफलमा जोड दिइएको छ। सरकारले आवश्यक नीति, बजेट र अनुसन्धान कार्यक्रम अघि बढाउन सांसदहरूले आग्रह गरेका छन्। तत्काल कार्यान्वयन गर्न जोड समेत दिइयो छ


































