
यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरमा बिचौलियालाई पूर्ण रूपमा निषेध गरेको छ। मङ्गलबार निमित्त प्रमुख रबिन्द्र चौधरीद्वारा जारी सूचनामार्फत यो जानकारी दिइएको हो। कार्यालयका अनुसार सेवाग्राहीलाई प्रलोभनमा पार्ने, दुःख दिने तथा हैरानी गर्ने गतिविधिबारे लगातार जनगुनासो आएपछि कडाइ गरिएको हो।

सूचनामा कार्यालय परिसरभित्र बिचौलियाको गतिविधि पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। यदि कोही व्यक्तिले नियमको उल्लंघन गर्दै सेवाग्राहीलाई प्रभाव पार्ने, अनावश्यक झन्झट दिने वा अवैध रूपमा काम गराउने प्रयास गरेमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।

कार्यालयले सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सेवा लिन आग्रह गर्दै पारदर्शी र सहज सेवा प्रवाह सुनिश्चित गर्न सबै पक्षलाई सहयोग गर्न अनुरोध गरेको छ।

































