
अत्तरियाः काठमाडौंको कलंकीस्थित Learning Realm International (LRI) School र कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयबीच शैक्षिक गुणस्तर अभिवृद्धि तथा आपसी सहकार्यका लागि महत्वपूर्ण समझदारी (MOU) सम्पन्न भएको छ ।

दुई विद्यालयबीच भएको सम्झौताअनुसार शैक्षिक गुणस्तर सुधार, अतिरिक्त क्रियाकलापको प्रवर्द्धन तथा असल अभ्यास आदान–प्रदान गर्ने लक्ष्य राखिएको छ । सम्झौताले विद्यार्थीको सिकाइ अनुभवलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

सो अवसरमा LRI School ले दुर्गालक्ष्मी नमुना माविलाई एक विद्यालय बस निशुल्क रूपमा उपहारस्वरूप प्रदान गरेको छ । उक्त सहयोगले विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय गतिविधिमा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा दुर्गालक्ष्मी नमुना मावि व्यवस्थापन समिति अध्यक्ष हरिदत्त विश्वासले यो सहकार्यले दुबै विद्यालयको समग्र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले LRI School को सहयोगलाई उच्च प्रशंसा गर्दै दीर्घकालीन सहकार्यले सुदूरपश्चिमको शैक्षिक स्तर उकास्न मद्दत पुग्ने धारणा राख्नुभयो ।
देशकै अग्रणी विद्यालय LRI र सुदूरपश्चिमको उदाउँदो शैक्षिक संस्थाबीचको यो सहकार्यलाई शिक्षा क्षेत्रका लागि उदाहरणीय कदमका रूपमा लिइएको छ ।
































