
अत्तरियाः धनगढी उपमहानगरपालिका–१२, जुगेडा (डीगाउँ) मा सञ्चालन गरिएको निःशुल्क चियाघर अहिले ज्येष्ठ नागरिकका लागि भेटघाट, संवाद र खुसी साट्ने साझा केन्द्र बनेको छ। करिब एक महिनाअघि सुरु गरिएको यो पहलले स्थानीय बुबाआमा तथा हजुरबुबा–हजुरआमालाई आत्मीय वातावरणमा समय बिताउने अवसर दिएको छ।

चियाघरमा दैनिक रूपमा ज्येष्ठ नागरिकहरू भेला भई चिया पिउँदै आफ्ना अनुभव, कथा र सम्झनाहरू साट्ने गर्छन्। यसले उनीहरूबीच सामाजिक सम्बन्ध बलियो बनाउनुका साथै मानसिक सन्तुलन र खुशीमा समेत सकारात्मक प्रभाव पारिरहेको छ।
चियाघर तथा पुस्तकालयका सञ्चालक Prithvi Shah ले आफ्ना आमाबुवाको सम्झनामा यो सेवा सुरु गरेको बताउँदै ज्येष्ठ नागरिकप्रति सम्मान, माया र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्य रहेको जानकारी दिए। उनले आफ्नै आम्दानीको केही हिस्सा समाज सेवामा खर्च गर्दै यो अभियान अघि बढाएका हुन्।




आगामी दिनमा यो सेवा धनगढी–१९ सम्म विस्तार गर्ने योजना रहेको उनले बताए। साथै, ज्येष्ठ नागरिकका लागि हिँडडुल र योग अभ्यास गर्न पार्क निर्माण गर्ने अभियानसमेत सुरु गरिएको छ। स्थानीय सरकारबाट सहयोग नभए आफ्नै जग्गामा पार्क बनाउने तयारी रहेको उनको भनाइ छ।
चियाघरमा आयुर्वेदिक चियासँगै पत्रपत्रिका र पुस्तक पढ्ने सुविधा पनि उपलब्ध छ। स्थानीय ज्येष्ठ नागरिकहरूले यस्तो सेवा पाउँदा आफूहरू निकै खुसी भएको बताएका छन्।



































