
अत्तरियाः डोटीको जोरायल गाउँपालिका–स्थित गडसेरास्थित स्वास्थ्य चौकी खहडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिर्जनशील गडसेरी समाजको आयोजना, नवजीवन अस्पताल प्रालि धनगढीको प्राविधिक सहयोग र जोरायल गाउँपालिकाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो।

शिविरको उद्घाटन सामाजिक व्यक्तित्व आनन्द बिष्टले गरेका थिए। उनले आफ्नो जन्मभूमि डोटीप्रति विशेष लगाव रहेको उल्लेख गर्दै गडसेरा सहित जिल्लाभर सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताए। बिष्टले आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
शिविरमा स्थानीयवासीहरूले विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निःशुल्क रूपमा प्राप्त गरेका थिए। आयोजकका अनुसार शिविरमा उल्लेख्य संख्यामा सेवाग्राहीको सहभागिता रहेको थियो।
स्थानीय सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो। स्थानीयले निःशुल्क स्वास्थ्य सेवा पाएपछि खुसी व्यक्त गर्दै यस्ता शिविर नियमित हुनुपर्ने माग गरेका छन्। शिविरले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण योगदान गरेको आयोजकले बताएका छन्।






























