
कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको दुर्गालक्ष्मी सामुदायिक वनको १६ औं साधारणसभा सम्पन्न भएको छ। शनिबार वनकी अध्यक्ष शिवा कडायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष डिल्लीराज खत्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। उपाध्यक्ष मिना भण्डारीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव संगिता विश्वकर्माले गरेकी थिइन्।


सो अवसरमा कोषाध्यक्ष सविता भण्डारीले वार्षिक आयव्यय विवरण प्रस्तुत गरेकी थिइन्। २०६४ सालमा स्थापना भएको १७४.७ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनमा करिब ६०० उपभोक्ता रहेका छन्।
साधारणसभामा वनको संरक्षण, व्यवस्थापन तथा भावी योजनाबारे छलफल गरिएको थियो। स्थानीय सहभागिता र सामुदायिक वनको भूमिका अझ प्रभावकारी बनाउन जोड दिइएको थियो।
































