कृष्णपुरको ग्वासी समैजी धाम महायज्ञको आयव्यय सार्वजनिक, ९६ लाखभन्दा बढी बचत

Image
Nisarga Hospital

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुवेलास्थित ग्वासी समैजी धाममा सम्पन्न शिवपुराण एवं महारुद्र विराट महायज्ञको आयव्यय विवरण सार्वजनिक गरिएको छ। चैत ६ देखि १६ गतेसम्म सञ्चालन भएको उक्त महायज्ञपछि शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत आर्थिक विवरण सार्वजनिक गरिएको हो।

CP Hospital Dhangadhi

आर्थिक समितिका संयोजक खेमराज पाण्डेयका अनुसार महायज्ञमा नगद सहयोग, कलश, गहुँ–धान तथा आरतीसहित विभिन्न माध्यमबाट कुल रु. १ करोड ४० लाख ९२ हजार ३१ आम्दानी भएको छ। त्यस्तै, महायज्ञ सञ्चालनमा रु. ४४ लाख ५ हजार ३३८ खर्च भएको जनाइएको छ। यसरी महायज्ञबाट रु. ९६ लाख ८६ हजार ६९३ बचत भएको समितिले जनाएको छ।

महायज्ञ सफल बनाउन सहयोग गर्ने सबै दाताहरू, स्वयंसेवक तथा स्थानीय समुदायप्रति समितिले आभार व्यक्त गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख तथा महायज्ञ संयोजक हेमराज ओझाले धाममा गुरुकुल सञ्चालन गर्ने र हिमालय पर्वतसहित ५४ फिट अग्लो शिव–पार्वतीको भव्य मूर्ति स्थापना गर्ने योजना रहेको जानकारी दिए। उक्त दुवै कार्य छिट्टै सुरु गरिने उनले बताए।

त्यस्तै, वडा नम्बर–४ का अध्यक्ष तथा सह–संयोजक धर्म सिंहले निस्वार्थ रूपमा स्थानीयले गरेको सहयोगको प्रशंसा गर्दै योजनाबमोजिमका कार्य अघि बढाउन प्रतिबद्धता जनाए।

वडा नम्बर–५ का अध्यक्ष तथा सचिवालय सदस्य टेक पाण्डेयले ग्वासी समैजी धाम धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै प्रदेश सरकारको समेत सहयोग आवश्यक रहेको बताए।

सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरेर कैलाली–कञ्चनपुरमा आएका समुदायले ग्वासी समैजी देवताको परम्परागत रूपमा पूजा गर्दै आएका छन्।