
बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्य चौकीका इन्चार्ज सुमन लोहारले आफ्नै महिला सहकर्मी अनमी माया भट्टमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१ अदालत रोड क्षेत्रमा इट्टा प्रहारबाट भट्टको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ।

स्थानीयले कुटपिट भइरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले लोहारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पीडितको निवेदनका आधारमा उनलाई हिरासतमा राखिएको छ भने किटानी जाहेरी आउन बाँकी छ। घाइते भट्टको उपचार धनगढीस्थित मायामेट्रो अस्पतालमा भइरहेको छ।
पीडित भट्टका अनुसार उनी परीक्षा दिन पोखरा जाने तयारीमा धनगढी आएकी थिइन्। कोटिलाबाट डडेल्धुरासम्म सँगै आएका लोहारसँग धनगढी पुगेपछि फोन सम्पर्कलाई लिएर विवाद सुरु भएको उनले बताइन्। ‘फोनमा सहकर्मीसँग बोलेको विषयलाई लिएर झगडा भयो, त्यसपछि इट्टाले आक्रमण गर्यो,’ भट्टले भनिन्।




उनले लोहारसँग करिब १५–१६ लाख रुपैयाँ आर्थिक लेनदेनको विवाद पनि रहेको दाबी गरेकी छन्। उनका अनुसार सो रकम उनले व्याजमा लगानी गरेकी थिइन्। घटनापछि प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ। पीडितका श्रीमान् वैदेशिक रोजगारीमा दक्षिण कोरियामा रहेका छन्।



































