
कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने तयारी तीव्र पारेको छ। विश्वविद्यालयले एमबिबिएस, बिएस्सी नर्सिङ, बिएस्सी एमएलटी र बी अप्टोमेट्री कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमति मागेको छ।

रजिस्ट्रार डा. खेमराज जोशीका अनुसार आवश्यक शैक्षिक जनशक्ति व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ। करार सेवामा २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापकका लागि दरखास्त आह्वान भइसकेको छ। छनोट प्रक्रिया आगामी महिनादेखि सुरु गरिने जनाइएको छ।

हालको ५० शैयाको अस्पताललाई स्तरोन्नति गरी ३०० शैयाको शिक्षण अस्पताल बनाउने प्रस्तावसमेत अघि सारिएको छ। फिजियोलोजी, प्याथोलोजी, इएनटी, जनरल सर्जरी लगायतका विषयमा जनशक्ति पूर्ति प्रक्रिया अघि बढाइएको छ।

विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि २ अर्ब ५८ करोड रुपैयाँ बजेट माग गरेको छ। हालै प्रधानमन्त्री र अर्थमन्त्रीसँग भएको छलफलमा गेटा विश्वविद्यालय सञ्चालनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।































