
पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गी को उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन्। उषाले अभद्र व्यवहार, धम्की र कुटपिटको प्रयास गरेको आरोप लगाउँदै सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्।

जाहेरीपछि प्रहरीले दुवै पक्षलाई छलफलका लागि बोलाए पनि सहमति हुन नसकेपछि कानुनी प्रक्रियाअनुसार तिमल्सिनालाई नियन्त्रणमा लिइएको जनाएको छ।

यसअघि चैत १७ गते उषाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू असुरक्षित महसुस गरेको उल्लेख गर्दै राज्यसँग सुरक्षा र न्यायको माग गरेकी थिइन्। उनले अंशवण्डा विवाद उठाउँदै आफ्नो जीवनमा अनावश्यक हस्तक्षेप भएको पनि बताएकी थिइन्।

उषा र तिमल्सिनाबीच २०७९ जेठ २६ मा काठमाडौं जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको थियो। त्यसपछि तिमल्सिनाले सोही वर्ष मंसिर १९ मा सविना अधिकारी सँग दोस्रो विवाह गरेका थिए।































