
गणेश बहादुर धामी/ बाजुरा : बाजुराको सदरमुकाम मार्तडी बजार क्षेत्रमा बढ्दो अव्यवस्थालाई नियन्त्रण गर्न बडिमालिका नगरपालिका–८ वडा कार्यालयले निर्माण सामाग्री तत्काल हटाउन आग्रह गरेको छ।

वडा अध्यक्ष चन्द्र थापाद्वारा जारी सार्वजनिक सूचनामा ढुङ्गा, गिट्टी, बालुवा, इटा र छडजस्ता सामग्री सडक छेउमा जथाभावी थुपार्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिएको छ। हिलटप होटलदेखि डि.आर. मष्ट, चेडिल, बाजुरा क्याम्पस, बडिमालिका मन्दिर हुँदै डाँडाटोलसम्मका क्षेत्रमा यसले दुर्घटनाको जोखिम बढाएको जनाइएको छ।

वडा कार्यालयले यस्ता सामग्री तुरुन्त हटाउन निर्देशन दिँदै अटेर गरे कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै बजारलाई सफा र व्यवस्थित बनाउन सबै व्यापारीलाई आफ्ना घर तथा पसल अगाडि डस्टबिन राखी फोहोर व्यवस्थापन गर्न आग्रह गरिएको छ। यस कदमले बजार क्षेत्रलाई सुरक्षित, सफा र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
































