
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सशस्त्र प्रहरी बल नेपालले ठूलो मात्रामा जनशक्ति परिचालन गरेको छ। सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया कैलालीले १८० जना थप सुरक्षाकर्मी खटाएको हो।

दुवै जिल्लामा ९०–९० जनाका दरले परिचालन गरिएको जनशक्तिमा ३० जना दिन, ३० जना रात र ३० जना स्ट्यान्डबाइमा रहने व्यवस्था गरिएको छ। यो टोली कैलालीको नं. ३४ गण र कञ्चनपुरको नं. ३५ गणबाट परिचालन गरिएको हो।
निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीका अनुसार सीमा क्षेत्रमा अवैध चोरी–तस्करी नियन्त्रण, बीओपी तथा सीमा गुल्मको अनुगमन र समग्र सुरक्षा सुदृढीकरणलाई प्राथमिकता दिइएको छ।




यससँगै सम्भावित विपद् जोखिम अध्ययन, स्थानीय विद्यालयमा सचेतनामूलक कार्यक्रम तथा भारतीय समकक्षी Sashastra Seema Bal सँग संयुक्त गस्तीलाई पनि तीव्र बनाइएको छ।
गृह मन्त्रालयको निर्देशन र उच्च प्रहरी नेतृत्वको स्थलगत अवलोकनपछि सीमा क्षेत्रमा कडाइ बढाइएको हो। आवश्यक परे थप जनशक्ति पनि परिचालन गरिने बताइएको छ।



































