
बैतडी जिल्लामा सडक निर्माण कार्यमा ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई सडक डिभिजन कार्यालयले १५ दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम दिएको छ। सम्झौता अनुसार काम नगर्ने, भौतिक प्रगति न्यून रहने तथा पटक–पटकको ताकेता बेवास्ता गरेको भन्दै कार्यालयले कडा चेतावनी दिएको हो।

सडक डिभिजन कार्यालय बैतडीले सार्वजनिक सूचना जारी गर्दै ती ठेकेदारहरूलाई ठेक्का किन नतोड्ने भन्ने विषयमा स्पष्टिकरण माग गरेको छ। साथै, काममा सुधार ल्याउन तत्काल कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ।

सूचनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ र नियमावली २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। तोकिएको समयभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राख्ने चेतावनी दिइएको छ।

निर्माण कार्यमा ढिलाइका कारण विकास आयोजना प्रभावित भइरहेका बेला कार्यालयले कडाइ गर्दै समयमै काम सम्पन्न गर्न दबाब बढाएको छ। अब ठेकेदारहरूको जवाफले ठेक्काको भविष्य तय गर्नेछ।





























