
कैलालीको धनगढी उपमहानगरपालिका–५ शिवनगरस्थित चैतन्य पाठशालाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका एक हजार विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क क्षमता विकास तालिम सञ्चालन गर्ने भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत ‘चैतन्य क्षमता विकास अभियान’ नामक कार्यक्रममार्फत विद्यार्थीहरूको व्यक्तित्व, सीप र भविष्य उन्मुख क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ।

विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीका अनुसार एसइईपछि करिब एक महिना खाली रहने समयलाई सिर्जनात्मक र उपयोगी बनाउन यो पहल गरिएको हो। तालिममा व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्व, प्रस्तुतीकरण र नेतृत्व विकासका साथै योग तथा ध्यानमार्फत मानसिक सन्तुलनसम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ।

यसैगरी अंग्रेजी भाषा (सम्प्रेषण र लेखन) तथा सूचना–प्रविधि अन्तर्गत कम्प्युटर, ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, भिडियो सम्पादन र प्रोग्रामिङका विषय पनि समेटिएका छन्। साथै आतिथ्यता र खेलकुदसम्बन्धी तालिमसमेत समावेश गरिनेछ।

वैशाख ६ गतेदेखि सुरु हुने उक्त अभियानले विद्यार्थीहरूको क्षमता, आत्मविश्वास र नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।
































