
अमेरिकी प्रतिबन्धमा परेको चीनसँग सम्बन्धित एक तेल ट्यांकरले मंगलबार स्ट्रेट अफ होर्मुज पार गरेको देखिएको छ। समुद्री ट्र्याकिङ सेवा मरिन ट्राफिकका अनुसार उक्त जहाजले सफलतापूर्वक महत्वपूर्ण जलमार्ग पार गरेको संकेत प्राप्त भएको हो।
मालावीको झण्डा बोकेको यो ट्यांकरले सोमबार पहिलो प्रयासमा इरानको केशम द्वीपनजिकै पुगेर फर्किएको थियो। तर दोस्रो प्रयासमा पुनः अघि बढ्दै मंगलबार बिहानसम्म स्ट्रेट पार गरेको देखिएको छ।

फूल स्टार शिपिङ लिमिटेडको स्वामित्वमा रहेको उक्त जहाज शाङ्घाई जुआनरुन शिपिङ कम्पनीसँग सम्बन्धित मानिन्छ। इरानसँग सम्बन्धित कारोबारका कारण अमेरिकाले यसलाई सन् २०२३ देखि प्रतिबन्ध लगाएको थियो। यसअघि यो जहाज ‘फूल स्टार’ नाममा हङकङ झण्डामुनि सञ्चालनमा थियो।

जहाजको प्रस्थान बन्दरगाह अझै स्पष्ट नभए पनि डाटा विश्लेषण कम्पनी केप्लरका अनुसार यसले मेथानोल बोकेको र गन्तव्य चीन रहेको देखिएको छ। हाल अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी लागू गरिरहेको सन्दर्भमा यो घटनालाई महत्वपूर्ण मानिएको छ।
































