
अत्तरियाः विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सक्रिय मर्सि कोर नेपालले कैलालीको गोदावरी नगरपालिकालाई करिब ३ लाख ४५ हजार रुपैयाँ बराबरका अत्यावश्यक राहत तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ। ‘आर्थिक विकास मार्फत जोखिम व्यवस्थापन (M-RED V)’ कार्यक्रम अन्तर्गत आपतकालीन परिचालन केन्द्र (EOC) लाई उक्त सामग्री उपलब्ध गराइएको हो।


हालै ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रमा भएको भौतिक क्षति र उपकरण नोक्सानीपछि सेवा प्रवाहमा समस्या देखिएको थियो। सोही अवस्थालाई मध्यनजर गर्दै केन्द्रलाई पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउन तथा स्थानीय विपद् व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन सहयोग प्रदान गरिएको हो।
हस्तान्तरण गरिएका सामग्रीहरूमा फायर सुट, लाइफ ज्याकेट, फोल्डिङ स्ट्रिचर, मेगाफोन, सर्प समात्ने औजार, सुरक्षा जुत्ता, फायर ब्ल्यांकेट, म्यानुअल साइरन, गैंती–बेल्चा, ल्यापटप र मिटिङ चियरलगायत १२ प्रकारका अत्यावश्यक सामग्री समावेश छन्।




- उद्धार सामग्री: लाइफ ज्याकेट (१८ थान), फोल्डिङ स्ट्रिचर (२ थान), मेगाफोन (५ थान), फायर सुट (३ थान) र सर्प समात्ने औजार (Snake Rescue Tools – २ थान)।
- सुरक्षा उपकरण: सुरक्षा जुत्ता (१० जोर), फायर ब्ल्यांकेट (५ थान) र म्यानुअल साइरन (२ थान)।
- कार्यलय तथा पूर्वाधार: मिटिङ चियर (१२ थान), ल्यापटप (१ थान) र गैंती-बेल्चा जस्ता औजारहरू।

हस्तान्तरण कार्यक्रममा मर्सि कोर नेपालका निर्देशक सुरज सिग्देलले गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टलाई उक्त सामग्री बुझाएका हुन्। सामग्री बुझ्दै उनले विपद्का बेला जनधनको क्षति न्यूनीकरणमा यस्ता उपकरणले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्राप्त सामग्रीको प्रभावकारी सदुपयोग गर्दै नगरपालिकाको विपद् प्रतिकार्य टोलीलाई अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे।
सामाग्री हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सहयोगका लागि मर्सि कोर नेपालप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता सहकार्यले स्थानीय तहको विपद् व्यवस्थापन प्रणाली थप प्रभावकारी बन्ने र यसको दीर्घकालीन उपयोगिता रहने विश्वास व्यक्त गरे।




































