
अत्तरिया: युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील अत्तरिया जेसिजले गोदावरी आर्यघाट क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। “स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने मूल नाराका साथ आयोजित यस अभियानले धार्मिक तथा सार्वजनिक स्थलको स्वच्छता प्रवर्द्धन गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

कार्यक्रममा अत्तरिया जेसिजका पदाधिकारी तथा सदस्यहरूले सक्रियतापूर्वक आर्यघाट क्षेत्रको फोहोर व्यवस्थापन गरेका थिए। सरसफाइको माध्यमबाट युवाहरूलाई सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउनु र वातावरण संरक्षणमा उनीहरूको भूमिकालाई उजागर गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

अत्तरिया जेसिजका उपाध्यक्ष चिरञ्जीवी भट्टले जेसिजले युवाहरूलाई केवल कार्यक्रममा मात्र सीमित नराखी समाजमा सकारात्मक परिवर्तनको संवाहक बनाउन भूमिका खेलिरहेको बताउनुभयो। “हाम्रो लक्ष्य युवाहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई समाजप्रति जिम्मेवार र सक्षम नागरिक बनाउनु हो,” भट्टले भन्नुभयो। उहाँले आगामी दिनहरूमा पनि वातावरण, स्वास्थ्य र सामाजिक रूपान्तरणका यस्ता रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अत्तरिया जेसिजको यो सक्रियताले स्थानीय समुदायमा सकारात्मक ऊर्जा भर्नुका साथै युवा जागरणमा महत्त्वपूर्ण टेवा पुर्याएको छ। यस्ता गतिविधिले सार्वजनिक स्थलको संरक्षणमा जनचेतना फैलाउन समेत मद्दत पुगेको सहभागीहरूले बताएका छन्।





























