
अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ का लागि विद्यालय भर्ना अभियान र पठनपाठनको समयतालिका सार्वजनिक गरेको छ। नगरपालिकाको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा वैशाख महिनाको पहिलो हप्ताबाटै शैक्षिक गतिविधिहरू सुरु हुने भएका हुन्।

नगरपालिकाले जारी गरेको सूचना अनुसार, शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना अभियान आगामी वैशाख ७ गतेदेखि सुरु हुनेछ। भर्ना अभियानलाई प्रभावकारी बनाउँदै विद्यालय उमेर समूहका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्य नगरपालिकाले राखेको छ।
त्यसैगरी, भर्ना प्रक्रियासँगै नियमित पठनपाठन भने वैशाख १५ गतेदेखि सुरु हुने निर्णय गरिएको छ। नगर प्रमुख वीरेन्द्र भट्टद्वारा हस्ताक्षरित सूचनामा नगरभित्रका सबै विद्यालयहरूलाई सोही निर्णय बमोजिम कार्यन्वयन गर्न निर्देशन दिइएको छ।


नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयहरूलाई आवश्यक तयारी पूरा गर्न र विद्यार्थीहरूलाई समयमै विद्यालय पठाउने वातावरण सिर्जना गर्न अभिभावकहरूलाई समेत नगरपालिकाले आग्रह गरेको छ।






























