
जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पु¥याउने अभियान सुरु गरेको छ। संघीय सरकारको नीतिअनुसार राहदानी, नागरिकता तथा राष्ट्रिय परिचयपत्रजस्ता सेवा अब हुलाकमार्फत सेवाग्राहीकै घरमा पठाउने व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार सोमबार मात्रै करिब २०० सेवाग्राहीका राहदानी हुलाकमार्फत पठाएर सेवाको सुरुवात गरिएको छ। उनले यस कदमले सेवाग्राहीलाई लामो लाइनमा बस्नुपर्ने झन्झट घटाउँदै सेवा प्रवाहलाई थप सहज बनाउने बताए। “कार्यालयबाट प्रदान गरिने सेवा जनताको घरमै पु¥याउने लक्ष्यका साथ काम अघि बढाएका छौं,” उनले उल्लेख गरे।

हाललाई राहदानी वितरणबाट सुरु गरिएको यो सेवा आगामी दिनमा नागरिकता र राष्ट्रिय परिचयपत्र लगायतका अन्य सेवामा पनि विस्तार गरिने तयारी छ। यस व्यवस्थाले विशेषगरी टाढा–टाढाबाट सेवा लिन आउने नागरिकलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ। साथै, सेवा छिटो, प्रभावकारी र नागरिकमैत्री बन्ने अपेक्षा प्रशासनले गरेको छ।

यो अभियान सफल भएमा सार्वजनिक सेवा प्रणालीमा सकारात्मक सुधार देखिने र नागरिकको सरकारी सेवाप्रतिको विश्वास अझ मजबुत हुने आकलन गरिएको छ।





























