
डीवि विष्ट / बझाङ: सुदूरपश्चिमको विकट भूगोलमा पर्ने खप्तडछान्ना गाउँपालिका–४ की ८५ वर्षीया बैशाखी देवी रोकायाको जीवन लामो समय देखि पीडा र संघर्षले भरिएको थियो । नाम ‘बैशाखी’ भए पनि उनलाई सहारा दिने कुनै बैशाखी थिएन । न छोरा, न छोरी, न त श्रीमान् नै । एक्लोपन र गरिबीका बीच उनले बिताएको जीवन साँच्चिकै कष्टकर मात्रै नभई अन्धकार र पिडादायी थियो ।

छिमेकीको सहारा र राज्यले दिने सामाजिक सुरक्षा भत्ताले मात्र एकछाक टार्दै आएकी रोकायाको जीवनमा केही वर्षयता अर्को ठूलो संकट थपिएको थियो । आँखाको समस्या र दृष्टि धमिलो हुँदै जाँदा उनको दैनिकी झन् कठिन कष्टकर बन्दै गएको थियो । उपचारका लागि आवश्यक पर्ने ५०–६० हजार रुपैयाँ जुटाउने अवस्था उनको थिएन । जसको कारणले उनले आफ्नो रोगलाई नियतिको रूपमा स्वीकार्दै सहेर बस्न बाध्य थिइन् । तर, उनको जीवनले एकदिन अप्रत्याशित मोड लियो । खप्तडछान्ना गाउँपालिकाको पहलमा सञ्चालन गरिएको दुई दिने निःशुल्क आँखा शल्यक्रिया शिविरले बैशाखी देवीको जीवनमा उज्यालो ल्याईदियो । कुनै खर्च नगरी, आफ्नै गाउँ नजिकै उपचार पाएपछि उनी पुनः संसार देख्न सक्ने बनेकी छिन् । “अब म फेरि देख्न सक्छु,”भन्दै उनी, खुसीले गदगद भएकी छन् ।

यस्तै बैशाखी देवीको जस्तै पिडा सोही वडाकी ८२ बर्षिया औँला देवी रोकायाको कथा पनि उस्तै छ । दुबै आँखामा समस्या भएर वर्षौंदेखि राम्रोसँग देख्न नसकेकी उनी आर्थिक अभावकै कारण उपचार बाट टाढा हुनु परेको थियो । कैलाली गेटा आँखा अस्पताल सम्म पुगेर उपचार गराउन ६०–७० हजार खर्च लाग्ने भएकाले त्यो उनको लागि असम्भव थियो । तर, गाउँमै सञ्चालन भएको शिविरले उनको जीवन पनि खुसियाली ल्याई दियो । अहिले उनी प्रष्ट रूपमा देख्न सक्ने भएकी छन् । उनले भनिन्, “मेरो जीवनमा यस्तो दिन आउला भन्ने सपनामा पनी सोचेकी थिइनँ”। एक दिन ढिला आए, पहिलो दिन आएको भए दुबै आँखाको उपचार हुने रहेछ । तर पनी दाहिने आँखाको उपचार भएर राम्रो संग देख्न सक्ने भएकी छु । यो शिविर संचालन गर्नेको जय होस् भन्दै उनले यहाँका जनप्रतिनिधी र डाक्टर तथा स्वास्थ्यकर्मीलाई धन्यबाद ज्ञापन गरीन् ।

१५४ जनाको सफल शल्यक्रिया, सयौंलाई राहत
खप्तडछान्ना गाउँपालिकामा वैशाख ५ र ६ गते सञ्चालन गरेको निःशुल्क आँखा शिविर बाट यहाँका १ सय ५४ जनाले सफलता पूर्वक शल्यक्रिया सेवा प्राप्त गरेका छन् । च्यारिटी फाउन्डेसन र एमबिपी फाउन्डेसनको आर्थिक सहयोगमा, धनगढी नेत्रालय प्रा.लि. र श्रीकृष्ण आँखा अस्पताल, टिकापुरको प्राविधिक सहयोग खप्तडछान्ना गाउँपालिकाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । शिविरमा १सय २५ जनाले ओ.पि.डि. सेवा लिएका छन् भने ५० जनालाई औषधि र ३० जनालाई चस्मा वितरण गरिएको छ । कुल २ सय ५० जना बिरामी शल्यक्रियाका लागि छनोट भएका थिए । जसमध्ये १सय ५४ जनाको सफल शल्यक्रिया सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
गाउँमै विशेषज्ञ सेवा ः पहुँच विस्तारको उदाहरणीय कार्य
गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाका अनुसार खप्तडछान्न गाउँपालिकाले सुरुमा गाउँपालिका भित्रका ७ वटै वडाहरुमा पुगेर आँखा परीक्षण गरी बिरामीहरूको पहिचान गरिएको थियो । जटिल समस्या भएका बिरामीहरूलाई गाउँपालिकामा बोलाएर शल्यक्रिया गरिएको रोकायाले बताए । उनले भने, “ग्रामीण भेगका नागरिकलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउनु हाम्रो मुख्य लक्ष्य हो” । “ यस शिविर मार्फत औषधि, चस्मा र शल्यक्रिया सबै सेवा निःशुल्क प्रदान गरिएको बताए”।

उज्यालो फैलाउने अभियान
वर्षौंदेखि अन्धकारमा बस्न बाध्य यस पालिकाका वृद्धवृद्धाहरू अहिले उज्यालो संसारमा फर्केका छन् । बैशाखी र औँला देवी जस्ता धेरै नागरिकहरूको जीवनमा आएको यो परिवर्तन केवल उपचार मात्र नभई,आशा र सम्मानको पुनस्र्थापना पनि भएको खप्तडछान्ना गाउँपािलका वडा नम्बर ४ का पुर्व वडा अध्यक्ष समाजसेवि भिम बहादुर रोकायाले बताए ।
यस कार्य प्रती यहाँका नागररीक निकै खुःसी भएका छन् रोकायाले भने, स्थानीयवासीहरूले जनप्रतिनिधिहरू र सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरेका छन् । यस्तो कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको रोकयाले बताए ।































