
पाकिस्तानमा अमेरिकी उच्चस्तरीय टोलीको सम्भावित भ्रमणको तयारीसँगै सुरक्षा गतिविधि तीव्र भएको छ। सोमबार राजधानी इस्लामावादस्थित नुर खान एयरबेसमा एकै दिन ६ वटा अमेरिकी सैन्य विमान अवतरण गरेपछि कूटनीतिक चहलपहल बढेको छ।

उडान ट्र्याकिङ डेटाअनुसार नुर खान एयरबेस मा अवतरण गरेका ‘सी-१७’ विमानहरूले सुरक्षा उपकरण, सञ्चार तथा प्राविधिक सामग्री ल्याएका हुन्। यी सामग्रीहरू उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डलको सम्भावित भ्रमणका लागि आवश्यक रहेको स्रोतले जनाएको छ।

यसैबीच, अमेरिका–इरानबीचको सम्भावित वार्ताको दोस्रो चरणको तयारीसँगै यो गतिविधिलाई रणनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। इस्लामावाद र रावलपिन्डीमा सुरक्षा कडाइ गरिएको छ भने ‘रेड जोन’ क्षेत्र सिल गरिएको छ।

पाकिस्तानी सुरक्षा निकायले विदेशी प्रतिनिधिमण्डलको सुरक्षाका लागि ‘हाई अलर्ट’ जारी गरेको छ। यद्यपि, अमेरिकी वा पाकिस्तानी पक्षबाट भ्रमणबारे औपचारिक पुष्टि भने भएको छैन। यस घटनाले क्षेत्रीय कूटनीतिक चासो र सुरक्षा संवेदनशीलता बढाएको विश्लेषण गरिएको छ।





























