
बाजुराको बुढीगंगा नगरपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा दैनिक प्रशासनिक कार्य र सेवा प्रवाह गम्भीर रूपमा प्रभावित बनेको छ। अधिकृत नहुँदा योजना स्वीकृति, बजेट निकासा, कर्मचारी तलबभत्ता, सिफारिस तथा विकास निर्माणका काम ठप्प भएका छन्। नगर प्रमुख रामबहादुर बानियाँका अनुसार करार कर्मचारीको म्याद नथप्ने निर्णयपछि र केही कर्मचारी निलम्बनमा परेपछि समस्या झनै बढेको हो।

शैक्षिक सत्र सुरु भए पनि सामुदायिक विद्यालयले पाठ्यपुस्तक खरिद गर्न नसकेको र रकम निकासा नहुँदा विद्यार्थी प्रभावित भएका छन्। कर्मचारीहरूले महिनौँदेखि तलब नपाएको गुनासो गरेका छन्। मन्त्रालयले खटाएका अधिकृत भोजबहादुर ऐडी दुई पटक तोकिए पनि हालसम्म हाजिर नभएको नगरपालिकाले जनाएको छ।

अख्तियारको भ्रष्टाचार मुद्दापछि सात कर्मचारी निलम्बनमा परेपछि प्रशासनिक शून्यता थप गहिरिएको छ। स्थानीयहरूले सेवा प्रवाह पूर्ण रूपमा प्रभावित भएको भन्दै तत्काल व्यवस्थापनको माग गरेका छन्।






























