
अत्तरिया: सुदूरपश्चिमको प्रमुख प्रवेशद्वार अत्तरिया बजारबाट करिब २२ किलोमिटर दूरीमा रहेको रमणीय बुढीतोला क्षेत्रले मध्य वैशाखमा पर्यटकलाई आकर्षित गर्ने गरी विशेष पर्यटन महोत्सव आयोजना गर्ने भएको छ।

कैलाली र कञ्चनपुरको गर्मीबाट राहत खोज्ने स्थानीयलाई शीतल वातावरणमा मनोरञ्जन दिलाउने उद्देश्यले वैशाख १७ गतेदेखि २३ गतेसम्म “बुढीतोला पर्यटन महोत्सव” आयोजना गरिने बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिले जनाएको छ। समितिका संयोजक हरिदत्त भट्टराईका अनुसार महोत्सवमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई सुदूरपश्चिमको मौलिक संस्कृति, कला, भाषा, साहित्य र संगीतसँग नजिक्याउने लक्ष्य राखिएको छ।

महोत्सवमा स्थानीय परिकारको स्वादसँगै विविध सांस्कृतिक प्रस्तुति पनि समेटिनेछ। प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण बुढीतोलाबाट कैलाली–कञ्चनपुरका समथर भूभागसँगै भारतका विभिन्न सहरहरूको दृश्यावलोकन गर्न सकिन्छ। शान्त वातावरणका कारण यो क्षेत्र अध्ययन, लेखन तथा सिर्जनात्मक गतिविधिका लागि समेत उपयुक्त मानिन्छ।

स्थानीय पर्यटन व्यवसायी शेरबहादुर घर्तीमगरका अनुसार महोत्सवले पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधिलाई समेत गति दिने अपेक्षा गरिएको छ।




























