कैलाली–कञ्चनपुरमा अवैध सामान बरामद, भारतीय नागरिकसहित नियन्त्रणमा

Image
Nisarga Hospital

कैलाली र कञ्चनपुरमा प्रहरीले भन्सार छलि गरेर भारतबाट अवैध रूपमा भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ। एक जनालाई पक्राउ गर्नुका साथै ठूलो परिमाणमा बेवारिसे अवस्थामा रहेका सामान समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित चिसापानी बजारबाट अवैध रूपमा भित्र्याइएका मोबाइल सेटसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत मध्यप्रदेशस्थित रबिर जलगाउँका ३२ वर्षीय अजय सन्तराम जाधव रहेका छन्। उनलाई बुधबार इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको टोलीले करिब २ लाख २० हजार रुपैयाँ बराबरका ११ थान मोबाइल सेटसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका जाधवलाई आवश्यक कारबाहीका लागि सत्ति भन्सार कार्यालय, कैलाली पठाइएको प्रहरीले जनाएको छ।

nawajiwan
Attariya Hospital

त्यसैगरी, कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले करिब ३ लाख २७ हजार २०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। सुपरपावर, बिडी, सिष्टम तथा सिस्टम मसला लगायतका सामग्रीहरू बेवारिसे अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो। बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।

यस्तै, कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट पनि भन्सार छलि गरेर ल्याइएका करिब १ लाख ६९ हजार ५५० रुपैयाँ बराबरका चप्पल, कपडा लगायतका सामान प्रहरीले बरामद गरेको छ। ती सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध आयात तथा भन्सार छलि नियन्त्रणका लागि नियमित गस्ती र निगरानीलाई थप कडाइ गरिएको जनाएको छ। साथै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने चेतावनी पनि दिएको छ।