
सुदूरपश्चिमलाई धार्मिक नगरी जनकपुरसँग जोड्ने उद्देश्यसहित सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढी–जनकपुर ‘राज सिंहासन’ स्तरीय एसी सोफा बस सेवा आजदेखि सञ्चालनमा ल्याएको छ ।

उक्त सेवा दैनिक रूपमा धनगढी–जनकपुर–धनगढी रुटमा सञ्चालन हुनेछ, जसले लामो दूरीका यात्रुलाई सहज, सुरक्षित र आरामदायी यात्रा प्रदान गर्ने विश्वास लिइएको छ । आधुनिक सुविधायुक्त एसी सोफा सिटसहितको बसले धार्मिक यात्रु तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।
प्रालिका अध्यक्ष पदमराज सापकोटाका अनुसार धनगढीलाई धार्मिक पर्यटन सहर जनकपुरसँग सिधा जोड्ने लक्ष्यसहित सेवा सुरु गरिएको हो । उनले यो सेवाले यात्रुको समय बचत गर्नुका साथै आरामदायी अनुभव दिने बताए ।




उक्त बस सेवामा व्यवसायी श्रवण जयसवाल र उमेश यादवले करोडौं रुपैयाँ लगानी गरेका छन् । यस सेवाले सुदूरपश्चिम र मधेस प्रदेशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिएको छ । साथै यात्रुहरूले सहज बुकिङ र गुणस्तरीय सेवा पाउने कम्पनीले जनाएको छ ।
नयाँ सेवा सुरु भएपछि लामो दूरीका यात्रामा प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ । स्थानीयले सेवाको स्वागत गरेका छन् ।



































