
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहा–४ बलियामा यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले सेवा कार्यालयको उद्घाटन गर्दै पूर्वी कैलालीका नागरिकलाई सरकारी सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यसहित कार्यालय स्थापना गरिएको बताए । उनले जनतालाई छिटो, सहज र प्रभावकारी सेवा प्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

मुख्यमन्त्री शाहका अनुसार कार्यालय सञ्चालनसँगै स्थानीयले यातायातसम्बन्धी सेवामा सहज पहुँच पाउनेछन् र लामो दूरी धाउनुपर्ने बाध्यता हट्नेछ । उनले सो क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको बहुवर्षीय ठेक्काको स्रोत सुनिश्चित गरेको जानकारी दिए ।

लम्कीचुहा प्रादेशिक अस्पतालका लागि साढे चार करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्दै उनले आवश्यक परे सेवा सञ्चालनमा कानुनी लचकता अपनाइने बताए । साथै, टिकापुरमा प्रस्तावित विज्ञान तथा प्राविधिक विश्वविद्यालय निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै उनले दक्ष जनशक्ति उत्पादन समयको आवश्यकता भएको बताए ।































