
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ‘नरक जस्तो ठाउँ’ भन्ने अभिव्यक्तिसँग जोडिएको टिप्पणी सार्वजनिक भएपछि भारतले कडा आपत्ति जनाएको छ । ट्रम्पले प्रत्यक्ष रूपमा शब्द प्रयोग नगरे पनि उनले ट्रुथ सोसलमा अमेरिकी रेडियो होस्ट माइकल साभेजको विवादास्पद पोस्ट शेयर गरेका थिए, जसमा भारतसहित केही देशलाई ‘नरक जस्तो ठाउँ’ भनिएको थियो ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले उक्त टिप्पणीलाई गलत, अनुपयुक्त र अशोभनीय भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उनले भारत–अमेरिका सम्बन्ध आपसी सम्मान र साझा हितमा आधारित रहेको स्पष्ट पारे । अमेरिकी दूतावासले भने भारतसँगको सम्बन्धलाई ‘महत्वपूर्ण र मैत्रीपूर्ण’ भन्दै ट्रम्पको भनाइ उद्धृत गरेको छ ।

भारतको प्रमुख विपक्षी दल कांग्रेसले पनि उक्त टिप्पणीलाई अत्यन्त अपमानजनक भन्दै आलोचना गरेको छ र प्रधानमन्त्री नरेन्द्र मोदीलाई कडा कूटनीतिक आपत्ति जनाउन आग्रह गरेको छ । भारत सरकारका अनुसार करिब ५.५ मिलियन भारतीय मूलका नागरिक अमेरिका बसोबास गर्छन्, जसले दुई देशबीचको सामाजिक–आर्थिक सम्बन्धलाई अझ गहिरो बनाएको छ ।

































