
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँसँग शिष्टाचार भेट गरेका छन्। शनिबार प्रदेश प्रमुख निवास पुगेर मुख्यमन्त्री शाहले प्रदेश प्रमुखसँग शिष्टाचार भेट गर्दै समसामयिक राजनीतिबारे छलफल गरेका हुन्।

सोही क्रममा मुख्यमन्त्री शाहले प्रदेश सभाको आठौं अधिवेशन आह्वानका विषयमा पनि कुराकानी गरेका उनको सचिवालयले जानकारी दिएको छ। मुख्यमन्त्री शाहले वैशाख १७ गते बिहीबार अपराह्न ४ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेका छन्।

भेटलाई प्रदेश सरकार र प्रदेश प्रमुखबीच समन्वय सुदृढ गर्ने संकेत रूपमा लिइएको छ। भेटमा समसामयिक राजनीतिक अवस्था विकास निर्माण र प्रदेश सरकारका प्राथमिकता बारेमा समेत संक्षिप्त छलफल भएको बताइएको छ।

सिफारिस गरिएको अधिवेशन आह्वान पछि प्रदेश सभाको काम कारबाही नियमित रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ। यस भेटले प्रदेश सरकार र प्रदेश प्रमुखबीच सहकार्य अझ प्रभावकारी हुने विश्वास गरिएको छ।






























