
कैलालीको गोदावरी नगरपालिका–२ मा अवस्थित अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १७औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। शनिबार आयोजित उक्त सभाले संस्थाको हालसम्मको प्रगति, सेवा विस्तार र आगामी योजनाबारे महत्वपूर्ण छलफल गरेको छ।

कार्यवाहक अध्यक्ष शेरबहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए। सभामा नगर प्रमुख भट्टले संस्थाको दिगो विकासका लागि सबै सरोकारवालाबीच आपसी सहकार्य र हातेमालो अपरिहार्य रहेको उल्लेख गरे। उनले नगरपालिकाका तर्फबाट खानेपानी संस्थालाई आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता समेत व्यक्त गरे।

नगर प्रमुख भट्टले यस्ता सामुदायिक संस्थाहरू स्थानीय सरकारका महत्वपूर्ण साझेदार भएको भन्दै सेवा विस्तार र गुणस्तर सुधारमा अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, उपभोक्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा संस्थाको वित्तीय अवस्था, सेवा विस्तार, पानी आपूर्ति व्यवस्थापन, सरसफाइ अभियान तथा भविष्यका योजनाबारे विस्तृत छलफल गरिएको बताइएको छ। उपभोक्ताहरूले पनि आफ्नो सुझाव तथा गुनासोहरू प्रस्तुत गरेका थिए।
यसैबीच, संस्थाको नयाँ नेतृत्व चयनका लागि आगामी वैशाख २६ गते निर्वाचन हुने निर्णय भएको छ। निर्वाचनपछि संस्थाको आगामी कार्यदिशा, नीति तथा सेवा सुधारका कार्यक्रम अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
स्थानीय तहसँग समन्वय गर्दै अत्तरिया खानेपानी संस्थाले उपभोक्तालाई स्वच्छ र सुरक्षित पानी आपूर्ति सुनिश्चित गर्न निरन्तर प्रयास गर्दै आएको छ। आगामी नेतृत्व चयनसँगै संस्थाको सेवा अझ प्रभावकारी हुने विश्वास लिइएको छ।































