
डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदार मन्दिरमा वैशाख शुक्ल तृतीया र चतुर्दशी (वैशाख १६ र १७ गते) विशेष धार्मिक मेला लाग्ने भएको छ। शिवधामका रूपमा परिचित यस मन्दिरमा प्रत्येक वर्ष हजारौँ भक्तजनको घुइँचो लाग्ने गर्छ।

यहाँ केदारनाथ बाबाको स्वरूपमा पूजा गर्ने परम्परा रहिआएको छ। विशेषगरी सन्तान प्राप्तिको कामना लिएर आउने श्रद्धालुले पूजा गर्दा मनोकामना पूरा हुने विश्वास रहेको छ। यही आस्थाका कारण सुदूरपश्चिमका विभिन्न जिल्ला, कर्णाली प्रदेशको दैलेख तथा भारतको उत्तरप्रदेश र उत्तराखण्डबाट समेत भक्तजन आउने गरेका छन्।
बडीकेदार क्षेत्रमा जेठ, कात्तिक पूर्णिमा र महाशिवरात्रिमा पनि ठूला धार्मिक मेला लाग्ने गर्छन्। ती अवसरमा भजन–कीर्तन, विशेष पूजा र दर्शनका लागि ठूलो भीड लाग्ने गरेको छ।


गणेशराज जोशीका अनुसार यस वर्षको मेलाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। श्रद्धालुका लागि निःशुल्क भण्डारा र बसोबासको व्यवस्था मिलाइएको छ।
कात्तिक मेलामा दुई लाखभन्दा बढी भक्तजन सहभागी हुने गरेका छन्। आवश्यक पूर्वाधार सुधार तथा सेवा विस्तारका योजना अघि बढाइँदै मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउने लक्ष्य लिइएको छ।






























