
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा यहि वैशाख १७ गतेदेखि सञ्चालन हुन लागेको “बुढीतोला पर्यटन महोत्सव २०८३ (पर्यटन मेला)” केवल एउटा सांस्कृतिक कार्यक्रम मात्र नभई पर्यटन प्रवद्र्धन सँगै स्थानीय विकास दृष्टिले महत्वपूर्ण पहल हो ।

वैशाख १७ देखि २३ गतेसम्म सञ्चालन हुने यो महोत्सवले बुढीतोलालाई एक आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । बुढीतोला क्षेत्र पर्यटन प्रवद्र्धन तथा बजार व्यवस्थापन समितिको आयोजनामा हुन लागेको यो महोत्सव विशुद्ध रूपमा आर्थिक मुनाफा भन्दा पर रहेर दीर्घकालीन पर्यटन विकासको उद्देश्यले केन्द्रित छ । आयोजक समितिका संयोजक हरि दत्त भट्टराईका अनुसार महोत्सवले स्थानीय उत्पादन, सांस्कृतिक भेषभूषा, परम्परा र कला–संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा टेवा पु¥याउनेछ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी स्थानीय उत्पादन, पहाडी क्षेत्रका आकर्षण तथा सांस्कृतिक झल्को प्रदर्शनी रहने उनले बताए । बढी भन्दा बढी पर्यटन साथै पर्यटन क्षेत्रका लगानी कर्ताहरलाई भित्र्याउने लक्ष्य साथै यस क्षेत्रको विकासको निम्ति महोत्सव सञ्चालको उद्देश्य रहेको छ ।
यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीय बजारलाई चलायमान बनाउने विश्वास गरिएको छ । बुढीतोला क्षेत्र प्राकृतिक सौन्दर्य, पहाडी भू–भाग, धार्मिक आस्था र ऐतिहासिक सम्पदाले भरिपूर्ण क्षेत्र हो । तर यस्ता सम्भावनाहरू हुँदाहुँदै पनि आवश्यक प्रचार–प्रसार र पूर्वाधार विकासको अभावमा अपेक्षित रूपमा पर्यटन विकास हुन सकेको छैन । यस्तो अवस्थामा आयोजना हुन लागेको यो महोत्सवले उक्त क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउने एउटा अवसर प्रदान गर्ने देखिन्छ ।


यद्यपि, यस्ता कार्यक्रमहरू केवल केही दिनको उत्सवमा सीमित नभई दीर्घकालीन योजना र पूर्वाधार विकाससँग जोडिनु आवश्यक छ । सडक, खानेपानी, सरसफाइ, आवास र सूचना व्यवस्थापन जस्ता आधारभूत पक्षहरूमा ध्यान नदिइए पर्यटन प्रवद्र्धन दिगो हुन सक्दैन । त्यसैले स्थानीय सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्य अपरिहार्य देखिन्छ । समग्रमा, बुढीतोला पर्यटन महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने र सांस्कृतिक पहिचानलाई जोगाउने महत्वपूर्ण अवसर प्रदान गर्दछ ।
गोदावरी नगरपालिका वडा नं ४ का वडा सदस्य शेर बहादुर घर्तीमगर का अनुुसार बुढीतोला क्षेत्र पर्यटकहरूको लागि एक उत्कृष्ट गन्तव्य हो । धार्मिक दृष्टिकोणले समेत यो क्षेत्र अत्यन्तै पवित्र मानिन्छ, किनकि गोदावरी धामको उद्गम स्थल नै बुढीतोलामा रहेको छ । उनले महोत्सवले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्दै यस अवसरमा स्थानीय उत्पादन, कला, संस्कृति तथा परम्परागत भेषभूषा प्रदर्शन गर्न सकिएमा क्षेत्रको समग्र विकासमा टेवा पुग्ने बताए । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढाउने अपेक्षा गरिएको उनले बताए । महोत्सवले पर्यटन प्रवद्र्धन साथै व्यापार प्रवद्र्धन तथा समग्र क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त उनले गरे ।
७ दिन सम्म सञ्चालन हुने महोत्सवमा स्थानीय देखि राष्ट्रीय कलाकारहरुको प्रस्तुति रहने समेत जनाएको छ । विभिन्न ब्यवसायी, शिक्षा, सीप प्रवद्र्धनका करिब ६० वटा स्टलहरु रहने जनाएको छ । महोत्सवमा टिकट साधारणलाई १०० रुपैया विद्यार्थीहरूलाई ५० रुपैयाँ साथै अशक्त अपाङ्गता ज्येष्ठ नागरिकलाई निःशुल्क रहने जनाएको छ । ‘हामी सबैको एकता, समृद्ध बुढीतोला क्षेत्रको प्रतिबद्धता उद्देश्य सहित पर्यटन प्रवद्र्धन समृद्ध समुदाय, स्थानीय उत्पादन बजार प्रवद्र्धन, साँस्कृतिक कार्यक्रम लोक कला र संगीत, स्वादिष्ट स्थानीय परिकारहरु, घुमौ बुढीतोला बनाऔं’ यादगार पलहरू उद्देश्य सहित बुढीतोला महोत्सव सन्चालन हुन् गइरहेको छ ।




























