
कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाकी ५९ वर्षीया थोमा दमाईको भारतमा रेलबाट खसेर मृत्यु भएको छ। छोरीलाई भेट्न बैङ्गलोर जाने क्रममा कोलोरुल नजिकै सोमबार बिहान उनी रेलबाट खसेकी हुन्। उनका श्रीमान् धने दमाईका अनुसार शौचालय जान भनेर उठेकी थोमा अर्को स्टेसन पुग्दा बेपत्ता भएपछि खोजी गर्दा रेलपथ नजिकै मृत अवस्थामा भेटिएकी थिइन्।


हाल उनको शव आनन्दपुर अस्पतालमा राखिएको छ र मंगलबार पोस्टमार्टमपछि नेपाल ल्याउने तयारी गरिएको छ। शव नेपाल ल्याउन दुई लाखभन्दा बढी खर्च लाग्ने भएकाले परिवारले आर्थिक सहयोगको अपिल गरेको छ। परिवारले सहयोगका लागि नबिल बैंकको खातामार्फत सहयोग गर्न आग्रह गरेको छ।































