
सुदूरपश्चिम प्रदेश का वन क्षेत्रमा डढेलोको प्रकोप तीव्र रूपमा बढ्दै गएको छ। हालसम्म करिब १५ प्रतिशत वन क्षेत्र डढेलोको चपेटामा परेको प्रदेश वन निर्देशनालय ले जनाएको छ। विशेषगरी चुरे क्षेत्रका वन सबैभन्दा बढी प्रभावित बनेका छन्, जसले जैविक विविधता, वन संरक्षण र स्थानीय जीविकोपार्जनमा गम्भीर असर पारेको छ।

निर्देशक हेमराज बिष्टका अनुसार चुरे क्षेत्रको भौगोलिक विकटता, भिरालो भू–भाग र सडक पहुँचको अभावले डढेलो नियन्त्रण कठिन बनेको छ। “कतिपय स्थानमा पुग्नै सकिँदैन, त्यसमाथि आधुनिक उपकरणको अभाव छ,” उनले बताए।

डढेलोका मुख्य कारणमा मानवीय गतिविधि, गोठालाले लगाउने आगो, च्याउ टिप्ने क्रममा बालिने आगो तथा खेतबारीमा नल पोल्ने अभ्यास प्रमुख छन्। साथै जलवायु परिवर्तन र एल निनो प्रभावले तापक्रम बढ्दा वन अझ सुक्खा भई आगलागीको जोखिम बढेको छ।

डढेलोले वन्यजन्तुको बासस्थान नष्ट गर्नुका साथै जडीबुटी, घाँस र काठमा ठूलो क्षति पुर्याएको छ। यता शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा भने डढेलो नियन्त्रणमा रहेको बताइएको छ। तर सामुदायिक वन क्षेत्रमा जोखिम अझै उच्च रहेको सरोकारवालाको भनाइ छ।






























