सुदूरपश्चिमकै पहिलो जाल्पादेवी केबलकार निर्माण तीव्र, दशैंसम्म सञ्चालनमा ल्याउने लक्ष्य

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशको पहिलो केबलकार परियोजनाका रूपमा निर्माणाधीन चिसापानी–राजकाँडा जाल्पादेवी केबलकारको काम तीव्र गतिमा अघि बढिरहेको छ। २०८२ पुसदेखि सुरु भएको बेस निर्माण सम्पन्न भइसकेको छ भने हाल पिलर जडानको काम भइरहेको छ। कुल १४ पिलरमध्ये ३ वटा जडान भइसकेका छन् भने ३४ वटा गोन्डुला जडान गरिनेछ।

CP Hospital Dhangadhi

केबलकार सञ्चालक सूर्यबहादुर थापाका अनुसार असारसम्म नभए दशैंभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। स्वास्थ्य समस्या र चुनावका कारण केही ढिलाइ भए पनि अहिले काम तीव्र रूपमा भइरहेको उनले बताए। इटलीबाट प्राविधिकसहित उपकरण ल्याएर रोपवेको माध्यमबाट पिलर जडान भइरहेको छ।

राजकाँडामा केबलकारसँगै मालिका मन्दिर, चमेना गृह, टिकट काउण्टर र सडक निर्माण पनि सँगसँगै अघि बढिरहेका छन्। आठ ठेकेदारले विभिन्न काम सम्हालेका छन् भने मन्दिर निर्माणको करिब ५० प्रतिशत काम सकिएको छ।

nawajiwan
Attariya Hospital

करिब २० विघा क्षेत्रफलमा निर्माण भइरहेको यस परियोजनामा व्यवसायी चन्द्र ढकालको ७५ प्रतिशत र सूर्यबहादुर थापाको २५ प्रतिशत लगानी रहेको छ। करिब पाँच अर्ब लागत अनुमान गरिएको केबलकार सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।

केबलकारले मोहन्याल–७ स्थित ऐतिहासिक धुलिकोट दरबार र आसपासका पर्यटकीय क्षेत्रको प्रचारमा मद्दत गर्नेछ। साथै, स्थानीयले खानेपानी, विद्युत् र पूर्वाधार विकासमा पनि सुधार आउने विश्वास गरेका छन्।

यो परियोजनाको शिलान्यास २०८२ वैशाखमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेकी थिइन्।