
कैलालीको अत्तरिया क्षेत्रमा २७ वर्षअघिको कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्त अन्ततः प्रहरीको नियन्त्रणमा परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले मंगलबार दिउँसो करिब १ बजे गोदावरी नगरपालिका–११ गौडी बजारबाट ५९ वर्षीय काले कामीलाई पक्राउ गरेको हो।


जिल्ला अदालत कैलालीको लगत नं. ५०३ अनुसार २०५६ साल जेठ ११ गते घटेको हत्या घटनापछि फरार रहेका कामीलाई प्रहरी खोजीमा राखिएको थियो। लामो समयदेखि भारतको मुम्बईमा लुकेर बस्दै आएका उनी हालै नेपाल फर्किएको सूचनाका आधारमा खोजी तीव्र पारिएको थियो।
इलाका प्रहरी कार्यालय मालाखेती र अस्थायी प्रहरी पोस्ट ओलानीबाट खटिएको संयुक्त टोलीले उनलाई हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला अदालत कैलाली पठाइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार फरार अभियुक्तलाई कानूनको दायरामा ल्याउन निरन्तर प्रयास जारी रहेको छ।































