
अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अत्याधुनिक AI X-ray प्रविधिमार्फत क्षयरोग (टीबी) खोजपड्ताल शिविर सञ्चालन गरिएको छ। नगरपालिकाको आयोजना तथा स्वास्थ्य निर्देशनालय डोटीको प्राविधिक सहयोगमा सुरु भएको उक्त शिविर पहिलो दिन वडा नं. ६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र मौरिफाटामा सम्पन्न भएको हो।

शिविरमा जम्मा २२२ जनाको एक्स-रे परीक्षण गरिएको थियो, जसमा ४५ पुरुष र १७७ महिला सहभागी रहेका थिए। परीक्षणका क्रममा ५ जनामा क्षयरोग पुष्टि भई उनीहरूलाई उपचार प्रक्रियामा दर्ता गरिएको छ। पुष्टि भएका बिरामीमध्ये २ पुरुष र ३ महिला रहेका छन्। यसका साथै, थप शंकास्पद देखिएका २५ जनालाई ‘जीन एक्सपर्ट’ (GeneXpert) प्रविधिबाट विस्तृत परीक्षणका लागि सिफारिस गरिएको छ।

AI प्रविधिको प्रयोगले छिटो, सटीक र प्रभावकारी रूपमा रोग पहिचान गर्न सहयोग पुगेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। यसले समुदायभित्र लुकेर रहेका क्षयरोगका सम्भावित बिरामीलाई समयमै पहिचान गरी उपचारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।

शिविरमा चिकित्सक डा. दिलिप देउवा, रेडियोग्राफर, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। साथै कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा र प्रमुख प्रशासकीय अधिकृतको विशेष उपस्थितिले कार्यक्रमलाई थप महत्व दिएको थियो।
नगरपालिकाले यो अभियानलाई निरन्तरता दिँदै भोलि वैशाख १७ गते वडा नं. ४ स्थित साहारानगर स्वास्थ्य केन्द्रमा र वैशाख १८ गते वडा नं. २ वाणीस्थित गोलाबारी सामुदायिक वन क्षेत्रमा शिविर सञ्चालन गर्ने जनाएको छ। समुदायस्तरमै आधुनिक प्रविधि प्रयोग गरी स्वास्थ्य सेवा पुर्याउने यो पहललाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।
नगर प्रमुख हेमराज ओझाले समुदायको स्वास्थ्यप्रति नगरपालिका गम्भीर रहेको उल्लेख गर्दै सबैलाई शिविरमा सहभागी हुन आग्रह गरेका छन्। उनले भने, “AI प्रविधिबाट रोग पहिचान छिटो र सहज भएको छ। समयमै जाँच र उपचारले क्षयरोग पूर्ण रूपमा निको हुन्छ, त्यसैले सबै नगरवासीले नजिकको शिविरमा गई स्वास्थ्य परीक्षण गराउनुहोस्। स्वस्थ नागरिक नै समृद्ध नगरको आधार हो।”





































