बुढीतोलामा सात दिने पर्यटन महोत्सव भोली देखि सुरु: स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनको लक्ष्य

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–४ स्थित बुढीतोलामा भोली देखि बहुप्रतीक्षित सात दिने पर्यटन महोत्सव सुरु हुँदैछ। वैशाख १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने यस “बुढीतोला पर्यटन महोत्सव” को सम्पूर्ण तयारी पूरा भएको आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन समिति तथा बजार व्यवस्थापन समितिले जनाएको छ।

CP Hospital Dhangadhi

महोत्सवको भोलि बिहान ११ बजे गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनअघि बुढीतोला बजार क्षेत्रमा भव्य प्रभातफेरी समेत निकालिनेछ, जसले स्थानीय समुदायको उत्साहलाई झल्काउने अपेक्षा गरिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। गायिका एलिना चौहान, गायक पुष्कल शर्मा, ज्योती मगर, चक्र बम, टंक तिमल्सिना र कमल विरही लगायतका कलाकारले आफ्ना प्रस्तुति दिने भएका छन्। यसले महोत्सवलाई सांगीतिक रंग थप्नेछ भने दर्शकहरूलाई मनोरञ्जनको विशेष अवसर प्रदान गर्नेछ।

आयोजक समितिका संयोजक हरि भट्टराईका अनुसार महोत्सवमा करिब ६० वटा स्टल रहनेछन्। विद्यार्थीका लागि ५० रुपैयाँ र अन्यका लागि १०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। भट्टराईले आर्थिक मुनाफाभन्दा पनि स्थानीय उत्पादन, कला, संस्कृति र व्यवसायको प्रवर्द्धनलाई प्राथमिकता दिइएको स्पष्ट पारे। उनका अनुसार “हामीले स्थानीय पहिचान, उत्पादन र संस्कृतिलाई मुख्य आधार बनाएर महोत्सव आयोजना गरेका हौं।”

महोत्सवमा बुढीतोलाको मौलिकता झल्काउने सांस्कृतिक झाँकी, परम्परागत भेषभूषा प्रदर्शन तथा घरेलु उत्पादनका स्टलहरू विशेष आकर्षणका रूपमा रहनेछन्। साथै, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय तथा राष्ट्रिय खानाका परिकार र सांस्कृतिक प्रस्तुतिहरूले महोत्सवलाई अझ जीवन्त बनाउनेछ।

सल्लाहकार समितिका सदस्य अशोक मल्लले यो महोत्सवले स्थानीय व्यवसायीलाई नयाँ अवसर प्रदान गर्नुका साथै क्षेत्रीय पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले बुढीतोलामा तयार पारिएको पुतली बगैचा, स्ट्याचु, भित्तेलेखन तथा “उज्यालो बुढीतोला अभियान” ले क्षेत्रको सौन्दर्य थपिएको बताए। साथै कम्पासे डाँडा, सहस्रधारा जस्ता स्थानहरू हाइकिङका लागि आकर्षक गन्तव्य बन्न सक्ने उनले उल्लेख गरे।

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार अत्तरिया चौराहाबाट करिब २० किलोमिटर उत्तरमा पर्ने बुढीतोला प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो। भीमदत्त राजमार्गमा पर्ने यस स्थानमा कैलाली, कञ्चनपुर लगायत आसपासका जिल्लाबाट गर्मी छल्न तथा प्राकृतिक आनन्द लिन ठूलो संख्यामा पर्यटक पुग्ने गर्छन्।
आयोजकहरूले महोत्सवले बुढीतोलालाई नयाँ पर्यटन पहिचान दिने र दीर्घकालीन आर्थिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन्।

Dhnagadhi & Krishanapur