
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अधिकतम आर्थिक दबाब दिने रणनीति अघि सारेका छन्। उनले सैन्य आक्रमण पुनः सुरु नगरी तेहरानलाई वार्ताको टेबलमा फर्काउन नाकाबन्दी नै प्रभावकारी उपाय हुने विश्वास व्यक्त गरेका छन्। अमेरिकी नौसेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राख्दै स्ट्रिट अफ होर्मुज लामो समय बन्द गर्ने तयारी गरेको स्रोतहरूले जनाएका छन्।


यस नाकाबन्दीका कारण इन्धन मूल्य बढेको र अमेरिकी अर्थतन्त्रमा दबाब परेको बताइएको छ। पेन्टागनका अनुसार हालसम्म २५ अर्ब डलर खर्च भइसकेको छ, जसले आगामी निर्वाचनमा राजनीतिक असर पार्न सक्ने चिन्ता बढाएको छ।
ट्रम्पले नाकाबन्दी बमबारीभन्दा प्रभावकारी रहेको दाबी गर्दै इरानको ऊर्जा संरचना कमजोर बन्दै गएको बताएका छन्। तर, इरानले वार्ताका लागि स्ट्रिट अफ होर्मुज खोल्ने प्रस्ताव गरे पनि अमेरिकाले परमाणु कार्यक्रम मुख्य मुद्दा रहेको भन्दै अस्वीकार गरेको छ।
ह्वाइट हाउसमा उच्चस्तरीय बैठकहरू जारी छन् भने पेन्टागन सैन्य विकल्प तयार राखिरहेको छ। इरानको आन्तरिक नेतृत्वबारे अस्पष्टताले परिस्थिति थप जटिल बनेको अमेरिकी अधिकारीहरूले बताएका छन्।






























