
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ । सात दिनसम्म सञ्चालन हुने यो महोत्सव बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिको आयोजनामा बैशाख २३ गतेसम्म चल्नेछ।

बिहिबार (आज) एक समारोहकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले महोत्सवको उद्धघाटन गरेका हुन् ।

उद्धघाटन अघि बाजागाजासहित बुढीतोला बजारमा प्रभातफेरी गरिएको थियो ।

वैशाख २३ गतेसम्म लाग्ने महोत्सवमा एलिना चौहान, पुष्कल शर्मा, ज्योती मगर,चक्र बम, टंक तिमल्सिना, कमल विरही लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समितिले जनाएको छ ।





उक्त महोत्सवमा विद्यार्थीलाई ५० र अरुलाई प्रतिव्यक्ति १०० रुपैँया टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
समितिका संयोजक हरिदत्त भट्टराईको सभाअध्यक्षतामा भएको उद्धघाटन समारोहमा गोदावरी, चुरे सहितका स्थानाीय तहका जनप्रतिनिधिm विभिन्न संघ संस्थाका, प्रतिनिधि, कलाकारसहित स्थानीयहरुको उपस्थिति रहेको छ ।
पर्यटन महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बुढीतोला पर्यटन महोत्सवले स्थानीय कला, संस्कृति र प्राकृतिक सौन्दर्यको प्रभावकारी प्रवर्द्धन गर्दै क्षेत्रलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गरिरहेको बताएका छन्।
उनका अनुसार बुढीतोला पछिल्लो समय शैक्षिक, धार्मिक तथा पर्यटकीय हबका रूपमा विकसित हुँदै गएको छ, जसले गोदावरी नगरपालिकाको पहिचान अझ मजबुत बनाएको छ। नगरभित्र सञ्चालन भइरहेको महोत्सव अवलोकन गरी पर्यटन विकासमा योगदान दिन उनले सबैमा आग्रह गरेका छन्।
साथै, यस क्षेत्रलाई शिक्षा, पर्यटन, कृषि र व्यापारिक केन्द्रका रूपमा विकास गर्ने तथा हिल स्टेसनको रूपमा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए। बुढीतोला क्षेत्रको समग्र विकासका लागि निजी लगानी आकर्षित गर्नु आवश्यक रहेको पनि उनले जोड दिएका छन्।




































