
कञ्चनपुरमा तरबुजा चोरीको आरोपमा ११ वर्षीय बालक तपेन्द्र भण्डारीमाथि अमानवीय कुटपिट भएको छ। बेदकोट–५ धरमपुरस्थित मामा घर बस्दै आएका बालकलाई स्थानीय ३८ वर्षीय भोज नाथले हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बालकको हातखुट्टा बाँधिएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटना बुधबार पोल्खरीस्थित चौधर नदी छेउमा भएको हो, जहाँ बालक खेलिरहेको अवस्थामा करेसाबारीबाट तरबुजा चोरी गरेको आरोप लगाइएको थियो।

डीएसपी हेमबहादुर शाहीका अनुसार आरोपी नाथलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा सात दिनको म्याद थप गरिएको छ। साथै, बालकलाई कुकुर लगाएर लखेटिएको समेत बताइएको छ। बालकका आमाबाबु भारतमा रहेका र उनी हाल मामाघरकी हजुरआमासँग बस्दै आएका छन्।






























