सुदूरपश्चिममा फरार कैदी पक्राउ अभियान तीव्र, नौ महिनामा १,४६० जना पक्राउ

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरीले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार ४६० फरार कैदीबन्दीलाई पक्राउ गरेको छ। विभिन्न आपराधिक घटनामा संलग्न भई अदालत तथा जिल्ला प्रशासन कार्यालयबाट कैद सजाय र जरिवाना तोकिएपछि फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी कारागार चलान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

CP Hospital Dhangadhi

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्टका अनुसार सबैभन्दा बढी फरार कैदी कैलालीबाट ७३२ र कञ्चनपुरबाट ४१० जना पक्राउ परेका छन्। यस्तै डडेल्धुराबाट १०१, डोटीबाट १२, अछामबाट ४३, दार्चुलाबाट ७३, बैतडीबाट ९, बझाङबाट ५८ र बाजुराबाट २२ जना पक्राउ परेका छन्।

प्रवक्ता विष्टले लामो समयदेखि फरार रहेका कैदीबन्दीलाई पक्राउ गर्न नौवटै जिल्लामा विशेष प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। उनका अनुसार हालै भएका घटनाहरू तथा कारागारबाट फरार भएकाहरूलाई केन्द्रित गरी खोजी अभियान सञ्चालन गरिएको छ।

nawajiwan
Attariya Hospital

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका विभिन्न कारागारबाट १,४५८ कैदीबन्दी फरार भएका थिए। तीमध्ये हालसम्म १,१२० जना पक्राउ परेका छन् भने ३३८ जना अझै फरार रहेको प्रहरीले जनाएको छ। अधिकांश फरार कैदी भारततर्फ लुकेर बसेको आशंका गरिएको छ।

यस्तै कञ्चनपुरमा मात्र पछिल्लो एक सातामा विशेष अभियानमार्फत ७६ फरार कैदी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेकामध्ये धेरैजसो लागुऔषध मुद्दासँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ।