
बझाङमा ठूलो परिमाणमा नक्कली खुकुरी चुरोटसहित दुई जना पक्राउ परेका छन्। जयपृथ्वी नगरपालिका–१० जिपपार्कमा शुक्लाफाँटा नगरपालिका–९ का ३२ वर्षीय पंकज चौधरीले चलाएको सुपप्र ००१ क २५५२ नम्बरको मिनि ट्रकभित्र लुकाइएका ९ पेटी १० डण्डा नक्कली चुरोट बरामद गरिएको प्रहरीले जनाएको छ।


पक्राउ पर्नेमा चालक चौधरीसँगै ट्रक साहु बैतडीको पाटन नगरपालिका–२ का २१ वर्षीय हेमराज पाण्डेय रहेका छन्। शनिबार बेलुकी गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले ट्रक चेकजाँच गर्ने क्रममा नक्कली खुकुरी चुरोट फेला पारेको हो।
प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ। नक्कली सामानको कारोबारबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































