
स्ट्रेट अफ हर्मुजमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि विश्व बजारमा कच्चा तेलको मूल्यमा सामान्य गिरावट देखिएको छ। आइतबार ट्रुथ सोसियलमार्फत ट्रम्पले उक्त क्षेत्रमा थुनिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकाले सहयोग गर्ने बताएपछि सोमबार तेल बजारमा दबाब कम भएको हो।

बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रति ब्यारेल १०७.५३ डलर कायम भएको छ। यस्तै अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) ८४ सेन्टले घट्दै १०१.१० डलरमा झरेको छ। विश्लेषकहरूका अनुसार यसले तत्कालीन रूपमा आपूर्ति जोखिम केही कम भएको संकेत गरेको छ।
ट्रम्पले इरान, मध्यपूर्व र अमेरिकाको हितका लागि भन्दै प्रतिबन्धित जलमार्गमा फसेका जहाजहरूलाई सुरक्षित मार्ग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। तर अमेरिका र इरानबीचको तनाव कम हुन नसक्दा बजारमा अनिश्चितता अझै कायम छ।


स्ट्रेट अफ हर्मुजमा व्यापारिक आवागमन सीमित छ भने दुवै देशबीचको वार्ता निष्कर्षमा पुगेको छैन। ट्रम्पले आणविक सम्झौतालाई प्राथमिकता दिएका छन् भने इरानले नाकाबन्दी हटेपछि मात्र छलफल गर्ने अडान लिएको छ।
यसैबीच, ओपेक प्लसले जुन महिनाका लागि दैनिक १ लाख ८८ हजार ब्यारेल उत्पादन बढाउने निर्णय गरेको छ, जसले बजारमा थप प्रभाव पार्ने अनुमान गरिएको छ।






























