
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण र प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्। धनगढीमा प्रदेश सभा सदस्यहरूसँग आयोजित नीति, कार्यक्रम तथा बजेटसम्बन्धी अन्तरक्रियामा उनले ‘बजेट सुझाव समिति’ गठन गर्नुपर्ने आवश्यकता औंल्याए।

मुख्यमन्त्री शाहले प्रदेशभर समानुपातिक बजेट वितरण हुने बताउँदै सबै दलको प्रतिनिधित्व रहने गरी समिति बनाउन आग्रह गरे। नेपाली कांग्रेस संसदीय दलले प्रमुख सचेतक विक्रम सिंह धामीको संयोजकत्वमा तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको जानकारी पनि उनले दिए, जसमा गीता कुमारी चौधरी र पदम बहादुर शाही सदस्य छन्।

उनले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिए। साथै, कोटेशनमार्फत योजना कार्यान्वयन नगर्न र अनियमितता भए कारबाही गर्न प्रशासनलाई निर्देशन दिए।

२५ लाख रुपैयाँभन्दा कमका योजना नबनाइने र उपभोक्ता समितिबाट कार्यान्वयन रोक्ने नीति लिइएको उनले स्पष्ट पारे। सांसदहरूले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा पर्याप्त बजेट र दीगो विकास योजनाको माग गरेका छन्।































