
जिल्लामा एक सातादेखि पेट्रोल अभाव हुँदा जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। नियमित आपूर्ति अवरुद्ध भएपछि यातायात सेवा, बजार गतिविधि र दैनिक उपभोगका कामहरू ठप्पजस्तै बनेका छन्। दुई पेट्रोल पम्प रहेका जिल्लामा आवश्यक मात्रामा इन्धन नआउँदा सवारी साधन प्रयोगकर्ताहरू बिहानैदेखि लामो लाइनमा बस्न बाध्य छन्। कतिपय दिन पेट्रोल नै नआउँदा उपभोक्ताहरू निराश भएर फर्किनुपरेको छ। मोटरसाइकल प्रयोगकर्ता सबैभन्दा बढी प्रभावित भएका छन्।

पेट्रोल अभावका कारण सार्वजनिक यातायात घट्दा यात्रुहरू लामो समय कुर्न बाध्य छन् भने केही स्थानमा भाडा वृद्धि भएको गुनासो छ। ग्रामीण क्षेत्रका नागरिक झनै मारमा परेका छन्। बजारमा ढुवानी समस्या हुँदा व्यवसायसमेत प्रभावित भएको छ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले भोलिसम्म समस्या समाधान हुने बताएकी छन्। आयल निगमका अनुसार रकम अभावका कारण वितरण रोकिएको हो, तर आवश्यक प्रक्रिया पूरा भएपछि आपूर्ति सामान्य हुने जनाएको छ।
































