
केपी शर्मा ओली ले नेकपा एमाले सुदूरपश्चिम संसदीय दलमा देखिएको विवाद समाधानका लागि प्रदेश सभा सदस्यहरूलाई काठमाडौं बोलाएका छन्। संसदीय दलका नेता राजेन्द्रसिंह रावल सहित ११ जना प्रदेश सभा सदस्यहरू काठमाडौं पुगेका छन्। उनीहरूलाई बुधबार गुण्डुमा छलफलका लागि बोलाइएको भए पनि समय अझै निश्चित नभएको जनाइएको छ।

एक प्रदेश सभा सदस्यका अनुसार बिहान ११ बजे छलफल भनिए पनि समय फेरबदल हुन सक्ने सम्भावना छ। पार्टी अध्यक्षसँग भेटका लागि सबै सांसद तयारी अवस्थामा रहेका छन्।

पूर्वमुख्यमन्त्री समेत रहेका रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दल नेता परिवर्तन गर्नुपर्ने माग एमाले सुदूरपश्चिमभित्र लामो समयदेखि उठ्दै आएको छ। यस विवादले प्रदेश संसदीय दलभित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ बहस सुरु गराएको छ।































