
बाजुराको बुढीगंगा नगरपालिकामा प्रशासनिक भवन निर्माण ठेक्कामा भएको भनिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले बहस नोट पेस गर्न आदेश दिएको छ। तत्कालीन मेयर दीपक विक्रम शाहसहित १४ प्रतिवादीविरुद्धको मुद्दामा बुधबार न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बहस प्रक्रिया अघि बढाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का प्रक्रियामा मिलेमतो गरी बदनियतपूर्वक योग्यताको मापदण्ड परिवर्तन गरेर बढी कबोल गर्ने बोलपत्रदातालाई ठेक्का दिइएको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। आयोगले तीन करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो र कैद सजाय माग दाबी गरेको छ।

मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, सब–इन्जिनियर, लेखापाल, शिक्षा अधिकृत, खरिदार, प्राविधिक सहायक तथा ठेक्का पाएको निर्माण कम्पनीका प्रतिनिधिसहित विभिन्न १४ जनालाई प्रतिवादी बनाइएको छ।

अख्तियारको दाबीअनुसार सार्वजनिक खरिद ऐन विपरीत लक्षित बोलपत्रदातालाई ठेक्का दिन नियम परिवर्तन गरिएको थियो। अदालतको पछिल्लो आदेशसँगै मुद्दा निर्णायक बहसतर्फ अघि बढेको छ।






























