
बैतडीको डिलाशैनी गाउँपालिकालाई सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा थन्किएको छ। गाउँपालिका–३ पसेरामा रहेको उक्त एम्बुलेन्स २०७९ देखि सञ्चालनमा आउन नसकेको हो।

गाउँपालिकाका अनुसार बारम्बार बिग्रने र मर्मत खर्च अत्यधिक लाग्ने भएकाले पहाडी कच्ची सडकमा सञ्चालन गर्न कठिन भएको छ। स्वास्थ्य शाखा प्रमुख गणेशसिंह बोहराले एम्बुलेन्स बारम्बार बिग्रिने समस्या र सडक अवस्थाका कारण प्रयोगमा ल्याउन नसकिएको बताए।

गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले २०७९ मै कार्यपालिका बैठकबाट प्रदेश सरकारलाई फिर्ता पठाउने निर्णय गरिएको जानकारी दिए। धनगढीसम्म लैजाने प्रयास भए पनि ट्रेलर भाडा र प्राविधिक समस्या मिलाउन नसक्दा योजना असफल भएको उनले बताए। हाल डिलाशैनीमा वैकल्पिक एम्बुलेन्स पनि नभएको छ।

सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिकमा डिलाशैनी र पञ्चेश्वर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो। पञ्चेश्वरले भने २०७९ मै फिर्ता पठाइसकेको छ। ग्रामीण सडक र मर्मत चुनौतीका कारण अन्य केही पालिकाले पनि यस्ता एम्बुलेन्स प्रयोगमा कठिनाइ भोगिरहेका छन्।






























