
बैतडीमा सिमेन्ट, फलाम र फस्फोराइट खानी सञ्चालनमा ढिलाइ भएको भन्दै स्थानीय सरोकारवालाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घ, नागरिक अगुवा र बुद्धिजीवीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत ध्यानाकर्षण गराएका हुन्।

सिमेन्ट उद्योगका लागि चुनढुंगा, फलाम र कृषि मल उत्पादनका लागि फस्फोराइट खानीको विस्तृत अध्ययन सम्पन्न भए पनि उत्खनन प्रक्रिया अघि नबढेको उनीहरूको गुनासो छ। सुदूरपश्चिम प्रदेश सरकारको पहलमा २०७८ मा गरिएको अध्ययनपछि दोगडाकेदार र सुर्नया गाउँपालिकाको सीमास्थित धर्मधर क्षेत्रमा रहेको चुनढुंगा खानी उत्खननका लागि अनुमति दिइएको थियो।
करिब ३० अर्ब रुपैयाँ लगानीमा सिमेन्ट उद्योग सञ्चालनको तयारी भए पनि खानीमुनि सडक क्षेत्र पर्ने भएकाले सडक विभागसँग समन्वय आवश्यक भएको बताइएको छ। सम्बन्धित प्राविधिक अध्ययन भइरहेको छ।


त्यसैगरी दोगडाकेदारको फस्फोराइट खानीमा कृषि मल उत्पादनको सम्भावना देखिए पनि काम अघि नबढेको स्थानीयले बताएका छन्। पुर्चौडी क्षेत्रमा ऐतिहासिक फलाम खानीका अवशेष अझै देखिने भए पनि ती पनि बन्द अवस्थामा छन्।
स्थानीय अगुवाले बैतडीका प्राकृतिक स्रोत उपयोग हुन नसक्दा विकास अवसर गुमिरहेको भन्दै तत्काल समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।






























